ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
पाेखरा | चैत २४, २०८०
पोखरा: साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ ।
आयोजक र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रीता अधिकारी ‘ऋतु’ ले ज्ञानुका निबन्धले विशेष गरी महिलाहरूलाई उत्प्रेरणा दिने धारणा राखिन् ।
“क्षमता भएर पनि गृहिणी मात्र भएर खुम्चिन विवश महिलाहरू जो आफूलाई कमजोर ठानेर निश्चित परिधिभित्रको सुखसयलका नाममा आफ्ना पखेटा आफैँले काट्दै सोसाइटीमा कम र सोसल मिडियामा बढी समय बिताएका छन्, तिनलाई उत्प्रेरणा जगाउने निबन्ध कृतिमा छन्”, ऋतुले भनिन्, “नारीलाई आदर्शमा देवी बनाउने र यथार्थमा दासी बनाउने परम्परा र सामाजिक सोचप्रतिको रोचक कटाक्ष निबन्धमा प्रस्तुत गरिएको छ ।”
नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्षसमेत रहेकी अधिकारीले विचार, दर्शन र अनुभूतिको त्रिकोणात्मक संवेदना अँगालेर वैचारिक चिन्तन, निजात्मक शैली, काव्यात्मक भाषा र आत्मपरक तथा संस्मरणात्मक शैलीमा लेखिएका निबन्धहरू पढ्दा ठाउँ ठाउँमा आख्यान पढिरहे झैँ लाग्ने भनाइ राखिन् । सङ्ग्रहमा ७ खण्डमा ३७ ओटा निबन्ध सङ्गृहीत छन् ।
निबन्धकार ज्ञानुले अग्रज निबन्धकारहरूको निबन्ध उच्च बौद्धिकताले थिचिँदा उत्पन्न भएको निरसताबाट मुक्त भएर आफूले निबन्ध लेख्ने प्रयास गरेको भनाइ राखिन् । “साहित्यकार व्यक्ति मात्र होइन समष्टि हो, साहित्यकारले आफ्नो व्यक्तिगत कुरा मात्र होइन, समग्र समाजको व्यथा र अवस्था लेख्ने गर्छ ।”
निबन्धकार अधिकारीले भनिन्, “महिलालाई पितृसत्ताले अघि बढ्न बाधा उत्पन्न गरेको कुरालाई नकार्न सकिँदैन ।” निबन्ध सङ्ग्रहलाई आफूले आफ्नो परीक्षाका रूपमा समेत लिएका उनकोे भनाइ थियो । आफू निकै सचेत र इमानदार भएर निबन्ध लेख्ने प्रयास गरेको बताउँदै उनले निबन्धमा उल्लेख भएका ‘अमुक’ पात्रलाई निबन्ध सङ्ग्रह कुरियर गरेरै पठाइदिएको अनुभव सुनाइन् । पद्मकन्या क्याम्पसमा प्राध्यापनरत अधिकारी समालोचकका रूपमा बढी परिचित छिन् । यसअघि उनका करिब १ दर्जन समालोचनाका कृति प्रकाशित छन् ।
कार्यक्रममा सुरज पौडेल, हसिना बस्नेत, कृष्ण देवकोटा, डा। ईश्वरमणि अधिकारी, हिममाया पौडेललगायते टिप्पणी गरेका थिए । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमुले स्वागत गरेकी थिइन् । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
विश्व पुस्तक दिवसका अवसरमा आगामी वैशाख ११ गते पोखरामै पुस्तक आदानप्रदान कार्यक्रम आयोजना गरिने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिए ।
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी ...
पोखरा: पोखराको सेन्ट मेरीज स्कुलमा आयोजित १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्रको सम्मेलन जारी रहेको छ । कार्यक्रमको दोश्रो दिन मनशा स्मृति सर्व गुणीय व्यक्ति पुरस्कार छनौटका लागि पहिलो चरणबाट छनौट भएक...
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

